तौलिहवा (कपिलबस्तु), साउन २४ गते । नाग पञ्चमी पर्वको अवसरमा कपिलबस्तुको आठ पालिकाले स्थानीय विदा दिइएका छन् । जिल्लाको कपिलबस्तु नगरपालिका र यशोधरा गाँउपालिकाले नाग पञ्चमी पर्वको अवसरमा शुक्रबार विदा दिइएका हुन् ।
कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालका अनुसार नगरपालिका क्षेत्रमा मनाईने नाग पंचमी पर्वको अवसरमा विदा दिइएको बताउनुभयो । उहाँले शुक्रबार नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अति आवश्यक सेवा बाहेक), शिक्षण संस्थाहरु तथा मातहतका सम्पूर्ण संस्थाहरुलाई स्थानीय विदा दिइएको बताउनुभयो ।
त्यस्तै यशोधरा गाँउपालिकाका अध्यक्ष शिव दयाल तिवारीका अनुसार हिन्दु धर्मावलम्बीहरुको महान पर्व साउन शुक्ल पञ्चमी (नाग पञ्चमी पर्व) को पावन अवसरमा अकास्मिक सेवा बाहेक (स्वास्थ्य संस्था) पालिका अन्तरगतका कार्यालयहरुमा विदा दिइएको बताउनुभयो ।
त्यस्तै जिल्लाको महाराजगंज नगरपालिका, बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका र मायादेवी, शुद्धोधन र विजयनगर गाँउपालिकाले सार्वजानिक विदा दिइएका छन् ।