साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्दै २ हजार ६२२ दशमलव २८ विन्दुमा पुगेको छ। नेप्से २६ दशमलव ५३ अङ्कले बढेको हो।

आज उत्पादन समूह बाहेक सबै उपसमूहको शेयरमा हरियाली देखिएको छ। बैंकिङ समूहको शेयर मूल्य २ प्रतिशतले बढ्दा, विकास बैंक र लघुवित्त समूहको शेयर डेढ प्रतिशतले उक्लियो।

सप्तकोशी विकास बैंकको शेयरमा १० प्रतिशतले बढेको उछाल देखिएको छ भने जोशी हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ५.५ प्रतिशतले घट्यो।

यद्यपि परिसूचक उकालो लागे पनि कारोबार रकम घटेको छ। गत बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ सय २८ कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर मात्र ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन्।