कृषि उत्पादन बढाउन तथा किसानको आम्दानी सुदृढ गर्न बीउबिजनको सही प्रयोगमा प्राविधिक ज्ञानको महत्व अत्यन्तै आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

कपिलवस्तु सप्लायर्स प्रालि तौलिहवाको आयोजनामा भएको एग्रोभेट सञ्चालकहरूसँग त्रिमूर्ति प्लान्ट साइन्सेस प्रा.लि., हैदराबाद (भारत) अन्तर्गतको बीउबिजन सम्बन्धी जानकारीमूलक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

उपयुक्त बीउ छनोट, सही रोपाइँ विधि, रोग–कीरा नियन्त्रण तथा उत्पादन क्षमता अभिवृद्धिका लागि वैज्ञानिक जानकारी बिना कृषि व्यवसाय दिगो हुन नसक्ने उनीहरूको भनाइ छ । कार्यक्रममा उन्नत बीउको विशेषता, मौसमअनुसारको प्रयोग विधि, उत्पादन वृद्धि गर्ने प्रविधि तथा किसानसम्म गुणस्तरीय बीउ पुर्याउन एग्रोभेट सञ्चालकको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।

वक्ताहरूले गलत जानकारीका कारण किसानले भोग्नुपरेको क्षति न्यूनीकरण गर्न यस्ता प्राविधिक कार्यक्रम नियमित रूपमा आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै त्रिमूर्ति प्लान्ट साइन्सेस प्रा.लिका नेपाली प्रतिनिधि घनश्याम ओझाले गुणस्तरीय बीउको प्रयोगले उत्पादन मात्र नभई किसानको लागत घटाउन समेत सहयोग पुर्याउने बताउनुभयो ।

उहाले स्थानीय हावापानी र माटोअनुसार उपयुक्त बीउ छनोट गर्न सकिएमा कृषिमा उल्लेख्य प्रगति सम्भव हुने उल्लेख गर्नुभयो । त्यसैगरी कार्यक्रममा इष्ट वेष्ट सीड कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक केदार खड्का, बिउ ब्यवसायी संघका अध्यक्ष रामचन्द्र मुराउ, कपिलवस्तु नगरपालिकाका कृषि शाखा प्रमुख भगवानदास गुप्ता, बिषादी ब्यवसायी संघका अध्यक्ष संजय चौधरी, लगायतले एग्रोभेट सञ्चालक किसान र कम्पनीबीचको महत्वपूर्ण सेतु भएको भन्दै उनीहरूमा प्राविधिक ज्ञान अभिवृद्धि अपरिहार्य रहेको बताएका छन् ।

गलत सिफारिसका कारण किसानले क्षति बेहोर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्ता तालिम तथा जानकारीमूलक कार्यक्रम निरन्तर आवश्यक रहेको उनीहरूको भनाइ थियो । कार्यक्रमका आयोजक कपिलवस्तु सप्लायर्स प्रा.लि. का संचालक शिवरतन गुप्ताले किसानसम्म सही जानकारीसहित गुणस्तरीय बीउबिजन पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

उहाले आगामी दिनमा पनि एग्रोभेट सञ्चालक तथा किसानलाई लक्षित गर्दै यस्ता प्राविधिक कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । इष्ट वेष्ट सीड कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक केदार खड्काको अध्यक्षता, बिउ ब्यवसायी संघका अध्यक्ष रामचन्द्र मुराउको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन सन्दीप मौर्यले गर्नुभएको थियो ।

कार्यक्रमले एग्रोभेट सञ्चालकहरूको क्षमता अभिवृद्धि हुनुका साथै कृषकलाई भरपर्दो सेवा प्रदान गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।