मायादेवी गाउँपालिकामा तथ्याङ्कीय साक्षरता कार्यक्रम
कपिलबस्तु । जिल्लाको मायादेवी गाउँपालिकामा तथ्याङ्क समन्वय कार्यालय रुपन्देहीको आयोजनामा तथ्याङ्कीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तथ्याङ्क नन्दलाल कुर्मीले तथ्याङ्कको महत्त्व र प्राप्तिका स्रोत, आधिकारिक तथ्याङ्क, तथ्याङ्कसम्बन्धी गोपनीयता, नीतिगत व्यवस्था, तथ्याङ्कीय साक्षरता, राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्कीय नतिजा तथा प्रकाशनबारे प्रस्तुतिकरण गरेका थिए । तथ्याङ्क अधिकृत मनोहर हरिजनले प्रमुख जनसांख्यिक, सामाजिक, वैवाहिक, बालबालिका, अपाङ्गता, शैक्षिक, जातजाति, आर्थिक, पारिवारिक र घरायसी सुविधासम्बन्धी सूचकसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै छत्रपाली तिर्थादेखि माविका शिक्षक विजय चौधरीले , “पालिकाले गुणस्तरीय शिक्षामा जोड दिनुका साथै विद्यालय नआएका बालबालिकालाई विद्यालयमा भर्ना गराउने अनुकूल वातावरण बनाउनुपर्नेछ । साथै बसोबास गर्ने नागरिकहरूको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम ल्याउन आवश्यक छ ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले तथ्याङ्क समन्वय कार्यालयले प्रस्तुत गरेको पालिकाको साक्षरता दर, आर्थिक अवस्था लगायतको विवरणले पालिकाको वर्तमान स्थिति स्पष्ट देखाएको उल्लेख गर्दै भने, “यी तथ्याङ्कका आधारमा कमी कमजोरी पहिचान गरी योजनाबद्ध रूपमा अगाडि बढ्न सकिन्छ ।”
कार्यक्रमको समापन गर्दै तथ्याङ्क समन्वय कार्यालय रुपन्देहीका प्रमुख विपिन कुमार पञ्जियारले प्रस्तुत तथ्याङ्क अत्यन्त महत्वपूर्ण रहेको बताउँदै भने, “यसले पालिकाको समग्र वस्तुस्थितिबारे यथार्थ जानकारी दिएको छ, जसको आधारमा प्रमाणमा आधारित योजना निर्माण गर्न सहयोग पुग्छ ।”
कार्यक्रममा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, शिक्षक तथा विद्यार्थी सहभागी भएका थिए । कार्यक्रमको स्वागत तथ्याङ्क अधिकृत मनोहर हरिजनले गर्नुभएको थियो भने सञ्चालन नन्दलाल कुर्मीले गर्नुभएको थियो ।
































