कांग्रेस नेता विश्वराज रेग्मीको अन्तिम विदाइ, पार्टी झन्डा ओढाई श्रद्धाञ्जली
कपिलवस्तु । नेपाली कांग्रेसका नेता विश्वराज रेग्मीको पार्थिव शरीरमा पार्टीको चारतारे झन्डा ओढाई अन्तिम विदाइ गरिएको छ। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली अर्पण गर्ने क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डे, कांग्रेसका पूर्व पार्टी सभापति राजेश आचार्य, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, पार्टी प्रदेश ‘ख’ क्षेत्रीय सभापति गिरिजेश पाण्डे, नगर सभापति खुर्सेद अहमद खाँ, पार्टी सहसचिव मोहम्मद वजी, शोहरत तेली, लोकनाथ शर्मा लगायतका नेताहरूले स्वर्गीय रेग्मीको पार्थिव शरीरमा पार्टीको चारतारे झन्डा र तरुण दलको झन्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।
नेताहरूले स्वर्गीय रेग्मीले पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। रेग्मी तरुण दल तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व जिल्ला सभापति रहनुभएको थियो।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय रेग्मीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।































