चाडपर्व संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा जोडः सुरेन्द्रराज आचार्य
कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले चाडपर्वको मौलिकता जोगाउँदै धार्मिक सहिष्णुता र सहअस्तित्वलाई सुदृढ बनाउनु समयको आवश्यकता भएको बताउनुभएको छ ।
महाशिवरात्रि पर्व २०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना व्यक्त गर्नुभयो । भगवान् शिवको आराधनासँग सम्बन्धित यस पर्वले आत्मअनुशासन, सकारात्मक सोच र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उम्मेदवार आचार्यले नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै धर्म र आस्थाप्रति समान सम्मान कायम राख्नु राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्नुभयो । देशभर रहेका मठ, मन्दिर, गुम्बा, विहार तथा तीर्थस्थलहरूको संरक्षण र प्रवर्द्धनमार्फत धार्मिक पर्यटन विस्तार गर्न सकिने उहाँको धारणा छ ।
धार्मिक आस्थालाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिएमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र समग्र राष्ट्रिय विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक सम्पदालाई आपसमा जोड्ने पर्यटन सर्किट विकास दीगो समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उहाँको भनाइ छ ।
आधुनिकताको प्रभावसँगै चाडपर्व मनाउने शैली परिवर्तन भइरहे पनि यसको मौलिकता जोगाउनु सबैको साझा दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो । नेपाली संस्कृति, परम्परा र चाडपर्वले आपसी एकता, सद्भाव र राष्ट्रिय पहिचानलाई बलियो बनाउँदै आएको उल्लेख गर्दै तिनको संरक्षण र संवर्द्धनमा सबै पक्ष एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।































