कपिलवस्तु, फागुन ३ गते । महाशिवरात्रि पर्वका अवसरमा तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिर मा शुक्रबार बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

भगवान् शिवको दर्शन तथा पूजाआराधनाका लागि जिल्लाका विभिन्न स्थानका साथै छिमेकी क्षेत्रबाट समेत श्रद्धालुहरू मन्दिर पुगेका छन् । मन्दिर परिसरमा बिहानैदेखि लामो लाइन देखिएको छ । भक्तजनको लाइन तौलिहवा चोक बजार हुँदै नयाँ टोलस्थित कुमारी बैंक लिमिटेड सम्म पुगेको स्थानीयले बताएका छन् ।

मन्दिर व्यवस्थापन समितिका अनुसार भीड व्यवस्थापनका लागि स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । भक्तजनलाई सहज रूपमा दर्शन गर्न पालोअनुसार लाइन व्यवस्थापन गरिएको जनाइएको छ ।

महाशिवरात्रिका दिन व्रत बस्ने, बेलपत्र, धतूरा तथा दूध अर्पण गर्ने परम्परा अनुसार दिनभर विशेष पूजाआराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रम सञ्चालन हुने मन्दिर प्रशासनले जनाएको छ । जिल्लामा शान्तिपूर्ण रूपमा पर्व मनाइँदै गरेको छ ।