कपिलवस्तुमा मतदान अधिकृतको तालिम सुरु
कपिलवस्तु, १२ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले कपिलवस्तुमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिम सुरु गरिएको छ ।
कपिलवस्तु बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको तालिमको पहिलो दिन निर्वाचन क्षेत्र नं. १ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी करिब दुई सय पचास जनालाई प्रशिक्षण प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
तालिममा मतदान केन्द्र व्यवस्थापन, मतपत्र तथा निर्वाचन सामग्रीको प्रयोग, मतदाता पहिचान प्रक्रिया, मतदान तथा मतगणनासम्बन्धी कार्यविधि, आचारसंहिता पालना तथा सम्भावित विवाद व्यवस्थापनका विषयमा जानकारी गराइएको छ । साथै मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कानुनी प्रावधान र जिम्मेवारीबारे समेत अभिमुखीकरण गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न तालिम प्रभावकारी हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । अन्य निर्वाचन क्षेत्रमा खटिने कर्मचारीलाई पनि क्रमशः तालिम प्रदान गरिने जानकारी दिइएको छ ।































