जातीय विभेद अन्त्य गर्न व्यवहारमै परिवर्तन आवश्यक
कपिलवस्तु, चैत ६ गते । जातीय विभेद अन्त्य गर्न व्यवहारमै परिवर्तन आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिनु भएको छ । ६१ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा यशोधरा गाउँपालिकामा “विभेदरहित समतामूलक समाज, जातीय विभेद हटाऔँ, न्यायपूर्ण समाज बनाऔँ” भन्ने नारासहित सहभोज तथा अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले जातीय विभेद र छुवाछूतजस्ता अमानवीय व्यवहार सभ्य समाजका लागि कलङ्क भएको बताउनुभयो । संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरे पनि व्यवहारमा विभेदका घटना अझै देखिनु दुःखद भएको उहाँको भनाइ छ ।
उहाँले सामाजिक न्याय, समान अवसर र सम्मानपूर्ण सहअस्तित्व सुनिश्चित गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताउनुभायो ।
वडा नं. ७ का वडाध्यक्ष चन्द्रप्रकाश दुबेले जातीय विभेद अन्त्य गर्ने दायित्व सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले शिक्षा, सचेतना र व्यवहारगत परिवर्तनमार्फत मात्र विभेदरहित समाज निर्माण सम्भव हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक एकता र आपसी विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले कानुनी रूपमा जातीय विभेद दण्डनीय अपराध भए पनि व्यवहारमा यसको प्रभाव अझै कायम रहेको बताउनुभयो । उहाँले विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विस्तार आवश्यक रहेको धारणा राख्नुभयो । दलित समुदायको अधिकार, सम्मान र अवसर सुनिश्चित नभएसम्म समतामूलक समाज निर्माण अधुरो रहने उहाँको भनाइ थियो ।
सूचना महिला सञ्जालकी अध्यक्ष श्यामकली रैदासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अञ्जना तेलीले राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्य र औचित्यबारे गोविन्द धवलले जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन विन्देवासेनी हरिजनले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका सल्लाहकार राधेश्याम पाठक, महिला तथा बालबालिका शाखाकी प्रमुख रमा पन्थी, कार्यपालिका सदस्य रामकिशोर बरई, सेचन करुणा संस्थाका मिनकु यादव, दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासी लगायतको सहभागिता रहेको थियो ।































