कपिलबस्तु, चैत्र ८ गते । कपिलबस्तुमा निषेधाज्ञा जारी भएको छ । कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउंसो १ बजोदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिउको बताउनुभयो ।
उहाँले कपिलबस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको बताउनुभयो ।
उहाँका अनुसार निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा वर्गदीघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, बभनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।
प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही समेत गरिने बताउनुभयो । कपिलबस्तुको महाराजगंज नगरपालिकाको बरगदीमा मन्दिर तोडफोडको विषयमा भएको विवादका कारण निषेधाज्ञा जारी गरिएको छ ।