बझाङमा भूकम्पको धक्का
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो बझाङ क्षेत्रमा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण आसपासका क्षेत्रमा कम्पन अनुभव गरिएको हो।
केन्द्रका तथ्यांक अनुसार बझाङ जिल्ला अन्तर्गत रायल आसपास केन्द्रबिन्दु रहेको भूकम्प ४.१ म्याग्निच्युडको मापन गरिएको थियो। स्थानीय समयअनुसार दिउँसो १ बजेर १४ मिनेटमा उक्त कम्पन अभिलेख गरिएको जनाइएको छ।
यसै दिन बिहान पनि अर्को भूकम्पको धक्का महसुस गरिएको थियो। केन्द्रका अनुसार दार्चुला जिल्ला को मुराई आसपास केन्द्रबिन्दु भएर बिहान ३ बजेर ५१ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पका कारण हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायहरूले सम्भावित परकम्प तथा जोखिमबारे सतर्क रहन आग्रह गरेका छन्।































