कपिलवस्तु, चैत ९ गते । साना किसान कृषि सहकारी संस्था लिमिटेड. निग्लिहवाको आयोजनामा ग्लोबल मनी वीकका अवसरमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तु नगरपालिका १० स्थित होटेल ब्लु ओसियन मा सम्पन्न कार्यक्रम संस्थाकी अध्यक्ष सुलोचना पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश कृषि सहकारी संघ लि.का सचिव चुरामणि पोख्रेल, कपिलवस्तु नगरपालिकाका कृषि शाखाका वरिष्ठ सहायक नारायण रेग्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका प्रबन्धक वसन्त मुराउले प्रशिक्षण दिनुभएको थियो । तालिममा बचतको महत्व, आम्दानी व्यवस्थापन, ऋणको सही प्रयोग, वित्तीय अनुशासन तथा सहकारीमार्फत किसानहरूले लिन सक्ने वित्तीय सेवाबारे जानकारी गराइएको थियो ।
ग्लोबल मनी वीकको सन्दर्भमा आयोजना गरिएको उक्त कार्यक्रमले किसान तथा सहकारी सदस्यहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको संस्थाले जनाएको छ । कार्यक्रममा सहभागीहरूले वित्तीय व्यवस्थापन सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने प्रशिक्षकले सो सम्बन्धमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले वित्तीय साक्षरता आजको आवश्यकता भएको बताउँदै आम्दानी अनुसार खर्च गर्ने बानी, नियमित बचत गर्ने र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।