सामाजिक परीक्षणमार्फत किड्सका कार्यक्रम सार्वजनिक
कपिलवस्तु, चैत १० गते । कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेजको आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ।
सामाजिक परीक्षणको सहजीकरण प्रवीण कुमार श्रीवास्तव र खग प्रसाद चापागाईंले गर्नुभएको थियो भने कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ संस्थाका कार्यकारी निर्देशक कृष्णकुमार द्विवेदीले दिनुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्थानीय तहले गर्ने कतिपय कामसमेत संस्थाले गर्दै आएको बताउँदै किड्सले सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी र सराहनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विकास निर्माण तथा सामाजिक क्षेत्रमा पारदर्शिता र उत्तरदायित्व बढाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।
त्यस्तै सुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले गैरसरकारी संस्थाहरूले स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दा समुदायले प्रत्यक्ष लाभ पाउने बताउँदै किड्सले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो।
स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले स्वास्थ्य क्षेत्रमा संस्थाले गरेको सहकार्यले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच विस्तारमा सहयोग पुगेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गरिएको थियो भने सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया समेत संकलन गरिएको थियो।
संस्थाका कार्यवाहक अध्यक्ष अनिरुद्ध नाथ शुक्लाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न परियोजनाका संयोजकहरू, बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्दीप पाण्डे, कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र प्रताप तिवारी, वडा नम्बर ११ का वडा अध्यक्ष रामगोपाल यादव, विजयनगर गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो।































