सार्वजनिक शान्ति खलल कसुरमा दुई जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका–२ बर्गदा स्थित काली मन्दिरमा तोडफोड गरिएको घटनापछि उत्पन्न विवादका क्रममा कुटपिट तथा सार्वजनिक शान्ति खलल पार्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मन्दिरमा ढुङ्गा प्रहार गरी तोडफोड तथा सामग्रीमा क्षति पुर्याएको घटनापछि हिन्दु–मुस्लिम समुदायबीच विवाद सिर्जना भएको थियो। सोही विषयलाई लिएर कपिलवस्तु नगरपालिका–४ कोदहवा चोकस्थित सार्वजनिक बाटोमा गुडिरहेको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि लाठी, हेल्मेट, मुक्का प्रहार गरी कुटपिट गर्नुका साथै मोटरसाइकल र मोबाइलमा समेत क्षति पुर्याइएको तथा उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न ५–६ जनामध्ये कपिलवस्तु नगरपालिका–४ बस्ने अन्दाजी २६ वर्षीय ‘राज’ भन्ने दुर्गेश यादव र सोही नगरपालिका–२ बस्ने अन्दाजी २२ वर्षीय पवन कुमार गुप्तालाई चैत १० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। उनीहरूविरुद्ध सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमा द्वेष फैलाउने, सामाजिक सद्भाव बिगार्ने तथा उक्साहटपूर्ण सामग्री प्रकाशन नगर्न सबैलाई आग्रह गर्नुभयो। यस्ता गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने उहाँको भनाइ छ।































