कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका–२ बर्गदवास्थित काली मन्दिर तोडफोड घटनापछि सामाजिक सञ्जालमार्फत विभिन्न जातजाति तथा सम्प्रदायबीचको सद्भावमा खलल पुग्ने, घृणा तथा द्वेष फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत बुद्धभूमि नगरपालिका–६ बस्ने २१ वर्षीय मुस्ताक नाउलाई चैत ९ गते पक्राउ गरी जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाएको छ। यसैगरी कपिलवस्तु नगरपालिका–१ बस्ने २१ वर्षीय जितेन्द्र कहारलाई पक्राउ गरी सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले सामाजिक सञ्जालमार्फत द्वेष फैलाउने, धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र भ्रामक सूचना प्रवाह गर्ने कार्य कानुन विपरीत भएकाले यस्ता गतिविधि नगर्न सबैमा आग्रह गर्नुभयो। उहाँले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा र एकता कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै कानुनले निषेध गरेका कुनै पनि गतिविधिमा संलग्न पाइएमा कडा कारबाही गरिने बताउनुभयो।