कपिलवस्तु । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तु, बिएनएमटी नेपाल र शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गाउँपालिका १ पतारिया स्वास्थ्य चौकीमा एआई एक्स–रेसहित सक्रिय क्षयरोग खोजपडताल (एसीएफ) क्याम्प सम्पन्न भएको छ।

क्याम्पमा १७० जनाको छातीको एक्स–रे गरिएको थियो भने ३३ जना शंकास्पद बिरामीहरूको खकार नमुना संकलन गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। संकलित नमुनाको परीक्षण तौलिहवा स्वास्थ्य चौकीमा गरिने र परीक्षणपछि मात्र अन्तिम प्रतिवेदन आउने जनाइएको छ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जयकुमार चौधरीले क्षयरोग नियन्त्रणका लागि समयमै परीक्षण र उपचार आवश्यक रहेको बताउँदै यस्ता क्याम्पले समुदायमा लुकेर बसेका बिरामी पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो।

यसै अवसरमा क्षयरोग निको भई औषधि सेवन पूरा गरिसकेका एक जनालाई ‘टीबी च्याम्पियन’ घोषणा गरिएको छ। उनले आगामी दिनमा क्षयरोगका बिरामीलाई परामर्श दिने, नियमित औषधि सेवन गराउन सहयोग गर्ने तथा क्षयरोग सम्बन्धी जनचेतना फैलाउने काम गर्ने बताइएको छ।

टीबी च्याम्पियनले क्षयरोग निको हुने रोग भएकाले लक्षण देखिएमा लुकाएर नबस्न र स्वास्थ्य संस्थामा गई परीक्षण गराउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।