नि:शुल्क SEE तयारी कक्षामा अध्ययनरत विद्यार्थीलाई बिदाई
कपिलवस्तु । विशाल भिजन स्किल एण्ड ट्रेनिङ सेन्टरको कार्यालय फुलिकामा प्रगतिशील युवा समाजको आयोजना तथा DSDC को सहयोगमा सञ्चालन गरिएको नि:शुल्क SEE तयारी ट्युसनमा अध्ययनरत विद्यार्थीहरूलाई बिदाई कार्यक्रम गरी समापन गरिएको छ।
कार्यक्रम प्रगतिशील युवा समाजका अध्यक्ष बिन्देसारी यादव (विशाल) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुरजमती पासी प्रमुख अतिथि, चन्द्रका प्रसाद यादव, एस.एन. त्रिपाठी र दयाराम यादव विशिष्ट अतिथि रहनुभएको थियो भने अतिथिहरूमा परशुराम यादव, राजेश यादव र परशुराम निगमको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दिपेन्द्र कुहारले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुरजमती पासीले विद्यार्थीहरूको भविष्य निर्माणमा यस्ता नि:शुल्क शैक्षिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको SEE तयारी कक्षाले धेरै विद्यार्थीलाई सहयोग पुगेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
त्यस्तै, विशिष्ट अतिथि एस.एन. त्रिपाठीले शिक्षा नै विकासको मुख्य आधार भएको बताउँदै SEE जीवनको महत्वपूर्ण मोड भएकाले मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिनुभयो। उहाँले अनुशासन, परिश्रम र निरन्तर अभ्यासले सफलता हासिल गर्न सकिने बताउनुभयो।
कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए।































