दोहनीमा नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ शिव मन्दिर प्रांगणमा सुरु
कपिलवस्तु, चैत २१ गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ८ स्थित दोहनी शिव मन्दिर प्रांगणमा आजदेखि नौ दिवसीय लक्ष्मी नारायण महायज्ञ संगीतमय कथा तथा भव्य रामलीला कार्यक्रम सुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक समृद्धिका लागि आयोजना गरिएको यस महायज्ञको शुभारम्भ भव्य कलश शोभा यात्रासहित गरिएको हो ।

महायज्ञ चैत २१ गतेदेखि सुरु भई पूर्णाहुति चैत २९ गते गरिने आयोजक समितिले जानकारी दिएको छ । यस अवसरमा श्रीमति नीलम दिक्षित मानस मधुरी कानपुर, श्री पंकज पाण्डेय श्री मणिराम छावनी अयोध्या र आचार्यपंकज हरगोविन्द दिक्षित कानपुर भारत बाट सहभागी भएका छन् ।

समस्त क्षेत्रवासीको आयोजनामा सम्पन्न भइरहेको यस धार्मिक कार्यक्रमका समिति अध्यक्ष शत्रुधन चौधरी, संरक्षक उपेन्द्र पाण्डेय, उपाध्यक्ष जयराम तेली, कोषाध्यक्ष पुरुषोत्तम गिरी, सचिव सन्तोष गुप्ता र सदस्यहरुमा बम्हचारी गौड, रिकुं पाण्डेय, सग्रिव गुप्ता रहेका छन् ।

समितिका अध्यक्ष शत्रुधन चौधरीले भने, “धार्मिक कार्यक्रम मार्फत समाजमा धार्मिक चेतना र सामाजिक एकता फैलाउनु हामी सबैको कर्तव्य हो । यस्तो आयोजनाले युवा पुस्तालाई संस्कृति र संस्कार प्रति आकर्षित गर्न सहयोग पु¥याउँछ । सम्पूर्ण श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन हार्दिक आमन्त्रण गर्दछु ।”

आयोजकका अनुसार कार्यक्रम अन्तर्गत दैनिक संगीतमय कथा, रामलीला तथा विविध आध्यात्मिक गतिविधिहरू सञ्चालन हुने छन्, जसबाट स्थानीय समुदायमा धार्मिक तथा सांस्कृतिक जागरणको सन्देश फैलिने विश्वास गरिएको छ ।
































