तौलिहवा(कपिलबस्तु), चैत २५ गते । कपिलबस्तु र रुपन्देही जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष ज्ञापनपत्र बुझाउनु भएको छ । जनप्रतिनिधिहरुले शुद्धोधन लोकमार्ग निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

सियारी गाउँपालिकाको संयोजकत्वमा चैत २० गते बसेको अन्तरपालिका समन्वय समितिको संयुक्त बैठकको निर्णय अनुसार उक्त ज्ञापनपत्र पेश गरिएको हो । कपिलबस्तुका पाँच नगरपालिकाका नगर प्रमुख र रुपन्देहीका पाँच गाँउपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ज्ञापनपत्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देखि सुरु भई मायादेवी, सियारी, शुद्धोधन, गैडहवा, कञ्चन हुँदै कपिलवस्तुको वाणगंगा, कपिलवस्तु नगरपालिका, जगदीशपुर ताल, तिलौराकोट, बुद्धभूमि, महाराजगंज र शिवराज नगरपालिका हुँदै लुम्बिनी प्रदेश राजधानी देउखुरी जोड्ने छोटो दूरीको ‘शुद्धोधन लोकमार्ग’ निर्माणको प्रस्ताव गरिएको छ । उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्ष ०८२।०८३ मै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आगामी आर्थिक वर्ष ०८३।०८४ मा आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारसमक्ष आग्रह गरिएको छ ।

प्रदेशसभा सदस्य हेमा बेलबासे सहित पुगेको जनप्रतिनिधिहरुको टोलीले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ । कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले सडक निर्माणले पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि विस्तार तथा क्षेत्रीय समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

उहाँले अन्तर जिल्ला तथा अन्तर पालिका समन्वय मार्फत अघि बढाइएको यो योजना लुम्बिनी प्रदेशकै रणनीतिक पूर्वाधार परियोजनाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।