कपिलवस्तु । बाणगंगा नदी तटीय क्षेत्रमा मनसुनजन्य विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना तथा चेतावनी समन्वय सञ्जाल गठन गरिएको छ।
दलित समाज विकास केन्द्रको आयोजना, युनाइटेड मिसन टु नेपालको सहयोग तथा सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालसँगको समन्वयमा उक्त सञ्जाल गठन गरिएको हो।
कार्यक्रममा जीवन सुधार परियोजनाका परियोजना अधिकृत रमेश प्रसाद कुर्मीले मनसुनजन्य जोखिमयुक्त स्थानहरूको पहिचान, समयमै सूचना प्रवाह र समुदायस्तरमा पूर्वतयारी आवश्यक रहेको बताउनुभयो। उहाँले विपद् जोखिम न्यूनीकरणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
उक्त सञ्जाल श्यामु कोरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिको शासनयोजकमा रामबहादुर गन्धर्व रहनुभएको छ। सदस्यहरूमा गौतम चमार, राम ब्रिज केवट, शिवशंकर तेली, झगरु थारु, शिवम ओम कहार, विक्रम हरिजन, जितेन्द्र चाई, नारायण प्रसाद अर्याल र रमेश प्रसाद चौधरी रहनुभएको छ।
गठित सञ्जालले बाणगंगा नदी आसपासका बस्तीहरूमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन गर्ने जनाइएको छ।