पोखरी संरक्षणमा कानुनी ज्ञान अभिवृद्धि गर्न दुई दिने तालिम सुरु
कपिलवस्तु । जिल्लाको यशोधरा गाउँपालिकामा पोखरी संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन दुई दिने अभिमुखीकरण तालिम सुरु भएको छ। दलित सामाजिक विकास केन्द्रको आयोजनामा तथा युनाइटेड मिसन टु नेपालको सहयोगमा आयोजित तालिममा स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी तथा पोखरी व्यवस्थापन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
तालिममा प्राकृतिक स्रोत (ताल–पोखरी) संरक्षणसम्बन्धी कानुनी प्रावधान, समिति दर्ता प्रक्रिया, योजना तर्जुमा तथा नीतिनिर्माणका विषयमा विस्तृत जानकारी दिइएको थियो ।
प्रशिक्षक केशव दाहालले पोखरी संरक्षणका कानुनी व्यवस्था, स्थानीय तहको भूमिका तथा प्रभावकारी व्यवस्थापनका उपायबारे प्रस्तुति दिनुभएको थियो।
तालिमको मुख्य उद्देश्य यशोधरा गाउँपालिकाभित्र रहेका पोखरीहरूको संरक्षण तथा व्यवस्थापनका लागि जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गरी उन्नत व्यवस्थापनतर्फ प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।
तालिममार्फत पोखरीहरूको ऐतिहासिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय महत्वबारे जानकारी दिइएको छ। साथै, हालसम्म भएका संरक्षण प्रयास, उपलब्धि तथा देखिएका समस्या र चुनौतीबारे पनि छलफल गरिएको थियो। सार्वजनिक ताल–पोखरी संरक्षणका लागि विद्यमान कानुनी व्यवस्था तथा स्थानीय तहले बनाउन सक्ने नीतिगत प्रावधानबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रम दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरज मति पासीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकी उपाध्यक्ष गुञ्जादेवी मौर्या, वडा नम्बर १ देखि ८ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जयप्रकाश पाण्डेय लगायतको सहभगिता रहेको थियो ।































