कपिलवस्तु, चैत २७ । लागुऔषध मुद्दामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।

जिल्लाको बाणगंगा नगरपालिका–३ गंगोलिया निवासी ३७ वर्षीय प्रकाश अधिकारीलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

अधिकारीलाई सम्मानित कपिलवस्तु जिल्ला अदालतको मिति २०७१ मंसिर २४ गतेको फैसलाअनुसार दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अदालतको उक्त फैसला कार्यान्वयनका लागि फरार रहेका उनलाई मिति २०८२ चैत २६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अधिकारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले अदालतका फैसला कार्यान्वयनमा कुनै ढिलाइ हुन नदिने उद्देश्यले यस्ता कारबाहीलाई तीव्र पारिएको जानकारी दिनुभयो।