तौलिहवा(कपिलबस्तु), बैशाख २ गते । जिल्लामा रगत अभावलाई न्यूनीकरण गर्न कारागारका कैदीबन्दीद्वारा रक्तदान गरिएको छ । नयाँ वर्षको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा कैदीबन्दीको उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटिको समन्वय र कारागार कार्यालय कपिलबस्तुको आयोजनामा गरिएको कार्यक्रममा ६० जना कैदीबन्दीले रक्तदान गरेका छन् । सो अवसरमा ६० पिन्ट रगत संकलन भएको हो ।
रेडक्रस कपिलवस्तुका महामन्त्री सन्तोष श्रीवास्तवले जिल्लामा रगत अभाव भइरहेको अवस्थामा कैदीबन्दीको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै मानव सेवाको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
कारागार प्रशासक दल बहादुर बस्नेतले कैदीबन्दीलाई सुधारात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कैदीबन्दीले देखाएको सक्रियताले उनीहरूमा सामाजिक उत्तरदायित्व बोध बढेको उहाँको भनाई छ ।