योग र ध्यानमार्फत मनाइयो आरोग्य दिवस
तौलिहवा (कपिलबस्तु), बैशाख २ गते । कपिलबस्तुमा योग र ध्यान गरेर पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा उक्त दिवस मनाइएको हो ।
“सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः” भन्ने मूल नारासाथ आयोजित कार्यक्रममा योग तथा ध्यान अभ्यास गरी दिवस मनाइएको थियो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्वस्थ जीवनशैलीका लागि योग र आयुर्वेदको महत्व दिन प्रतिदिन बढ्दैगएको बताउनुभयो ।
उहाँले नियमित योग र ध्यान अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका प्रमुख नलिननाथ तिवारीले आयुर्वेद उपचार पद्धति सस्तो, सरल र प्रभावकारी रहेको बताउनुभयो । उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका रोग न्यूनीकरणका लागि आयुर्वेद र योगलाई जीवनशैलीमा समावेश गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा केन्द्रका सूचना अधिकारी एवम् बरिष्ठ कविराज निरीक्षक हरिलाल पाध्याले योग र ध्यानको बारेमा प्रशिक्षण दिनुभएको थियो ।































