कपिलवस्तुको तौलिहवामा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विशेष माइकिङ अभियान सञ्चालन गरेको छ। ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपानेको नेतृत्वमा सुरु गरिएको अभियान आन्दोलनचोकबाट मोटरसाइकलमार्फत अघि बढ्दै बहादुरगञ्ज चोक, गौढी चोक, भिक्षु चोक, प्रशासनचोक हुँदै जमुवार पुलसम्म पुगेको थियो।

अभियानका क्रममा सर्वसाधारणलाई अनावश्यक रूपमा हर्न प्रयोग नगर्न, फुटपाथमा सवारी पार्किङ नगर्न, मोटरसाइकल चालक तथा पछाडि बस्नेले अनिवार्य रूपमा हेल्मेट लगाउन र मद्यपान गरी सवारी नचलाउन आग्रह गरिएको थियो। साथै, रातिको समयमा दुर्घटना कम गर्न सवारीसाधनमा रिफ्लेक्टर स्टिकर टाँस्न पनि सचेत गराइएको थियो।

यसका साथै सवारीको गति नियन्त्रणमा राख्न, पैदलयात्रीलाई फुटपाथ प्रयोग गर्न तथा जेब्रा क्रसिङबाट मात्र सडक पार गर्न अनुरोध गरिएको थियो। चार पाङ्ग्रे सवारी चालकलाई सिटबेल्ट प्रयोग अनिवार्य गर्न पनि जोड दिइएको थियो।

प्रहरी नायव निरीक्षक न्यौपानेले ट्राफिक नियमको पालना अरूका लागि नभई आफ्नै सुरक्षाका लागि आवश्यक भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने बताउनुभयो।