शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो विश्वसनीयता थप मजबुत बनाएको छ। बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित प्रतिष्ठानले शैक्षिक सत्र २०८१/०८२ को परीक्षाफलमा लुम्बिनी प्रदेशमै उल्लेखनीय सफलता प्राप्त गरेको हो।

हालै सार्वजनिक नतिजाअनुसार हेल्थ असिस्टेन्ट (एच.ए.) कार्यक्रममा ९७.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै ल्याब टेक्निसियनतर्फ ९३.३३ प्रतिशत र फार्मेसीतर्फ ९० प्रतिशत विद्यार्थी सफल भएका छन्, जसले संस्थाको शैक्षिक गुणस्तरलाई पुष्टि गरेको छ।

प्रतिष्ठानका निर्देशक अरुण कुमार पाण्डेयले यस सफलतालाई निरन्तर मेहनत, प्रतिबद्धता र योजनाबद्ध कार्यको प्रतिफल भएको बताए। उनका अनुसार व्यवहारिक सीप, अनुशासन र आधुनिक शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै आएको कारण हरेक वर्ष उत्कृष्ट नतिजा सम्भव भएको हो। उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले विद्यार्थी केन्द्रित शिक्षण पद्धति, नियमित कक्षा, दक्ष शिक्षक र प्रयोगात्मक अभ्यासलाई सफलताको मुख्य आधार बताए। “हाम्रो लक्ष्य केवल प्रमाणपत्र दिने होइन, दक्ष र आत्मविश्वासी स्वास्थ्यकर्मी उत्पादन गर्नु हो,” उनले भने।

लेखा प्रमुख नन्दराम पौडेलका अनुसार पारदर्शी आर्थिक व्यवस्थापन र स्रोत–साधनको उचित परिचालनले संस्थाको समग्र शैक्षिक वातावरण बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

वि.सं. २०५४ सालमा स्थापना भएको यस प्रतिष्ठानले सुरुदेखि नै गुणस्तरीय, व्यवहारिक र रोजगारीमुखी शिक्षा प्रदान गर्दै आएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी सञ्चालन हुँदै आएको संस्थामा हाल एच.ए., फार्मेसी, ल्याब टेक्निसियन, फिजियोथेरापी तथा अमिन जस्ता विभिन्न प्राविधिक कार्यक्रमहरू सञ्चालनमा छन्।

स्थानीय स्तरमै गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउँदै आएको यस प्रतिष्ठानले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यहाँ अध्ययन गरेका विद्यार्थीहरू देशका विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा सफलतापूर्वक सेवा दिइरहेका छन्।