कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक
तौलिहवा (कपिलवस्तु), वैशाख १८ गते । कपिलवस्तु सदरमुकाम तौलिहवा तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तु र गुणस्तर तथा नापतौल कार्यालय बुटवलको संयुक्त टोलीले अनुगमन गरेको हो ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार नागरिकबाट गुनासो आएपछि पेट्रोल पम्पहरूको अनुगमन गरिएको हो । उहाँले भन्नुभयो, “सर्वसाधारणलाई घाटा हुने गरी कम परिमाणमा पेट्रोल बिक्री भएको भेटिएन, तर दुई वटा पेट्रोल पम्पमा निर्धारितभन्दा बढी पेट्रोल बिक्री भएको पाइएको छ ।”
उहाँका अनुसार कपिलबस्तु नगरपालिका–३ स्थित चिन्निलाल कान्दु पेट्रोल पम्प र बुद्धभूमि नगरपालिका–१०, विजगौरीस्थित श्री तौलेश्वरनाथ आयल सेन्टरमा पाँच लिटर पेट्रोलमा करिब ३० देखि ३५ मिलिलिटरसम्म बढी बिक्री भएको पाइएको छ ।
उक्त पेट्रोल पम्पहरूलाई तत्कालका लागि पेट्रोल बिक्री–वितरणमा रोक लगाइएको छ । नापतौल विभागबाट प्राविधिक टोली झिकाई मेसिन परीक्षण गरिने र कैफियत भेटिएमा कानुनी कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
अनुगमन टोलीले बुद्धभूमि नगरपालिका–२ स्थित रितु अटो सेन्टर, सोही वडाको बडहरा क्षेत्रस्थित बुद्ध दर्शन पेट्रोल पम्प तथा वडा नं. ५ प्रेमनगरस्थित श्री लक्ष्मी आयल सेन्टरमा समेत अनुगमन गरेको छ ।































