सानो सहयोगले बदलियो सरिताको जीवन
तौलिहवा(कपिलबस्तु), बैशाख २८ गते । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ भाइसकुण्डाकी सरिता चमार केही वर्ष अघि सम्म बेरोजगारी र आर्थिक अभावसँग संघर्ष गरिरहनु भएको थियो । दैनिक घरखर्च जुटाउनै मुस्किल पर्ने अवस्था थियो । परिवारको आवश्यकता समेत पूरा गर्न कठिन भइरहेका बेला उहाँलाई सानो आर्थिक सहयोगले आत्मनिर्भर बन्ने बाटो देखायो । अहिले उहाँ आफ्नै किराना पसल सञ्चालन गरेर परिवारको आर्थिक अवस्था सुधार गर्ने प्रयासमा जुट्नु भएको छ ।
दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय (सिवाईसिसि)’ परियोजना अन्तर्गत सरिताले किराना पसल सञ्चालनका लागि सुरुमा २५ हजार रुपैयाँ सहयोग प्राप्त गर्नुभएको थियो । त्यही सहयोगलाई आधार बनाएर उहाँले गाउँमै सानो पसल सुरु गर्नुभयो ।
करिब डेढ वर्षदेखि सञ्चालनमा रहेको उक्त पसल अहिले परिवारको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ । सरिताका अनुसार पसलबाट दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म कारोबार हुने गरेको छ । सुरुका दिनमा गाउँमा कम पसल भएकाले व्यापार राम्रो चलेको उहाँ सम्झनुहुन्छ । तर पछिल्लो समय गाउँमै धेरै पसल खुल्न थालेपछि प्रतिस्पर्धा बढेको छ र बिक्रीमा केही कमी आएको उहाँको भनाइ छ ।
“पहिला गाउँमा थोरै पसल थिए, त्यसैले राम्रो बिक्री हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले धेरै पसल खुलेपछि प्रतिस्पर्धा बढेको छ । तर आफ्नै काम गर्न पाउँदा खुसी लागेको छ ।”
पसल सञ्चालनमा उहाँका पतिले पनि समय–समयमा सहयोग गर्दै आउनुभएको छ । परिवारको साथ, आफ्नै मेहनत र परियोजनाको सहयोगले उहाँमा आत्मविश्वास बढ्दै गएको छ । पहिले घरभित्र सीमित रहनु भएकी सरिता अहिले व्यवसाय विस्तार गर्ने योजनामा हुनुहुन्छ । आगामी दिनमा फ्रिज किनेर चिसो पेय पदार्थ राख्ने तथा पसललाई अझ व्यवस्थित बनाउने उहाँको लक्ष्य छ ।
सरिता जस्तै मायादेवी गाउँपालिका का ३१० जना महिलालाई पनि उक्त परियोजनामार्फत विभिन्न साना व्यवसाय सञ्चालन गर्न सहयोग गरिएको परियोजनाले जनाएको छ। परियोजनाअन्तर्गत महिलाहरूलाई स्वरोजगार बन्न प्रोत्साहन गर्दै किराना पसल, पशुपालन, तरकारी खेती लगायतका व्यवसायमा सहयोग प्रदान गरिएको छ।
सरिताको अनुभवले सानो अवसर र सही सहयोग पाए ग्रामीण क्षेत्रमा रहेका महिला पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने सन्देश दिएको छ । विशेषगरी दलित तथा विपन्न समुदायका महिलालाई स्वरोजगारसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको सिवाईसिसि परियोजनाले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउन थालेको देखिन्छ ।
आर्थिक अभावका कारण निराश बनेको जीवन अहिले आशा र आत्मविश्वास तर्फ उन्मुख भएको सरिताको अनुभव छ । “पहिलाभन्दा अहिले धेरै राम्रो भएको छ,” उहाँले मुस्कुराउँदै भन्नुभयो ।































