काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले अमेरिकालाई डीएलएस नियमका आधारमा २ रनले हराएको छ ।

वर्षाले प्रभावित खेलमा ३२ ओभरमा २४९ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर २४६ रनमात्र बनाउन सक्यो । अमेरिकाका साईतेजा मुक्कामल्लाले शतक बनाए । उनी ७५ बलमा १०४ रन बनाएर आउट भए । यस्तै स्मित पटेलले ७२ रन बनाए । स्कटल्यान्डका ब्राड करी, ब्रान्डन म्याकमुलेन र सफयान शरिफले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रन बनाएको थियो । स्कटल्यान्डका ३ जना खेलाडीले अर्धशतक बनाए । उसका फिनले म्याकक्रियाथले ७७, ब्रान्डन म्याकमुलेनले ५५, म्याथ्यु क्रसले ५८ रन बनाए । अमेरिकाका सौरभ नेत्रभाल्कर र जसदीप सिंहले २/२ विकेट लिए ।

यो जीतसँगै स्कटल्यान्ड ३० खेलमा ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका २५ खेलमा ३६ अङ्कसहित दोस्रो स्थानमा छ ।

कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खलाको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल अस्ति स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतवार जेठ २ गते अमेरिकासँग, तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ ८ गते फेरि अमेरिकासँग खेल्नेछ ।

लिग–२ अङ्क तालिकामा नेपाल २५ खेलमा १८ अङ्कसहित सातौँ स्थानमा छ ।