कपिलवस्तु, जेठ २२ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले सीप विकास तालिम प्राप्त सहभागीहरूसँग अन्तरक्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला सम्पन्न गरेको छ।
बुद्धभूमि नगरपालिका–२ स्थित होटल इटालियन कपिलवस्तुमा बुधबार आयोजित कार्यक्रममा विगतका आर्थिक वर्षहरूमा विभिन्न सीप विकास तालिम प्राप्त गरेका सहभागीहरूलाई उद्यमशीलता विकास, व्यवसाय सञ्चालन तथा स्वरोजगारका अवसरबारे परामर्श प्रदान गरिएको थियो।
कार्यक्रममा सीटीईभीटी लेभल–१ अन्तर्गत सञ्चालित जनरल कुक तथा आल्मुनियम फेब्रिकेसन सम्बन्धी सीप विकास तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले सीप विकास तालिमलाई उत्पादन र उद्यमसँग जोड्न सके मात्रै यसको वास्तविक उपलब्धि देखिने बताउनुभयो। उहाँले तालिमपछि सहभागीहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक वातावरण, बजार पहुँच र प्राविधिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सीपयुक्त जनशक्ति नै आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र दक्षतालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनले बेरोजगारी न्यूनीकरणसँगै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले तालिम प्राप्त व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यालयले विभिन्न सीपमूलक तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले तालिमपछि पनि सहभागीहरूको व्यवसायिक यात्रालाई थप प्रभावकारी बनाउन परामर्श तथा सहजीकरणका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले तालिमपछिका अनुभव, व्यवसाय सञ्चालनका चुनौती तथा सम्भावनाबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले प्राप्त सीपलाई आयआर्जनसँग जोड्न आवश्यक सहयोग र समन्वयका विषयमा सुझावसमेत प्रस्तुत गरेका थिए।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख एवं वरिष्ठ उद्योग अधिकृत सन्तोष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष पदमबहादुर ढकाल, ग्रिल तथा आल्मुनियम व्यवसायका लुम्बिनी प्रदेश सदस्य ईश्वरी खनाल, सिलाइकटाइ व्यवसायीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता विनयकुमार पुडासैनीले गर्नुभएको थियो।