अर्घाखाँची, जेठ २३ । अर्घाखाँचीको नरपानीमा डाइनेस्टिक कम्पनीद्वारा सञ्चालन गरिएको चुनढुङ्गा खानीले खानी सञ्चालनअघि स्थानीय समुदायसँग गरिएका विभिन्न सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्।
स्थानीयको गुनासो र बढ्दो असन्तुष्टिपछि प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले आज खानी क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले स्थानीयवासी, कम्पनीका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्दै खानी सञ्चालनका क्रममा उठेका समस्याबारे जानकारी लिनुभएको थियो।
स्थानीयवासीले खानी खोल्नुअघि रोजगार, पूर्वाधार विकास, वातावरणीय संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न प्रतिबद्धता गरिए पनि ती कार्य प्रभावकारी रूपमा कार्यान्वयन नभएको आरोप लगाएका छन्। उनीहरूले धुलो, आवाज तथा वातावरणीय असरका विषयमा समेत गम्भीर चासो व्यक्त गरेका थिए
सांसद भुसालले सम्बन्धित निकायलाई पनि खानी सञ्चालनको अवस्था, सम्झौता कार्यान्वयन तथा वातावरणीय प्रभावबारे आवश्यक अनुगमन र नियमन गर्न आग्रह गर्दै समस्या समाधानका लागि सबै पक्षबीच संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
स्थानीय समुदायले उठाएका माग र गुनासोको सम्बोधन गर्दै खानी सञ्चालनलाई नियमसंगत, पारदर्शी र जिम्मेवार बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। अनुगमनमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी , अर्घाखाँचीका निमित्त प्रहरी प्रमुख झलक प्रसाद शर्मा , समाजसेवी प्रकाश बेलबासे केही स्थानीय लगायतको सहभागिता रहेको थियो।