पूर्वसांसद मङ्गलप्रसाद गुप्ताको निधन
तौलिहवा (कपिलवस्तु), जेठ २४ गते । कपिलवस्तुका पूर्वसांसद मङ्गलप्रसाद गुप्ताको निधन भएको छ । गुप्ताको हृदयाघातका कारण आइतबार बिहान निधन भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष बाबुराम खनालका अनुसार गुप्ताको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ८० वर्ष पुग्नुभएका गुप्ता लामो समयदेखि राजनीतिक जीवनमा सक्रिय हुनुहुन्थ्यो ।
पञ्चायतकालदेखि नै राजनीतिमा लाग्नुभएका उहाँ वि.सं. २०३९ देखि संसद्का लागि उम्मेदवार बन्दै आउनुभएको थियो । उहाँ एमालेबाट नौ पटक उम्मेदवार बन्नुभएको थियो । उहाँले वि.सं. २०७८ को निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा जित हासिल गर्नुभएको थियो ।
गुप्ताको शव मङ्गलबार मात्र कृष्णनगर ल्याइने र बुधबार दाहसंस्कार गरिने एमाले अध्यक्ष खनालले जानकारी दिनुभयो । स्वर्गीय गुप्ताका श्रीमती र चार छोरा हुनुहुन्छ ।































