लक्ष्मणपुर, जेठ १८।
श्री जनचेतना सामुदायिक माध्यमिक विद्यालय, शिवराज नगरपालिका–८, लक्ष्मणपुरमा स्थापित नारायण स्मृति अक्षयकोषबाट प्रदान गरिने वार्षिक छात्रवृत्ति यस वर्ष कक्षा ५ मा अध्ययनरत छात्रा रीना पाललाई प्रदान गरिएको छ।

oplus_8650754

प्रत्येक वर्ष जेठ १८ गते प्रदान गरिने उक्त छात्रवृत्ति विद्यालयमा अध्ययनरत जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हो। यस वर्ष रीना पालले आफ्नो शैक्षिक उपलब्धि, अनुशासन तथा विद्यालयीय गतिविधिमा सक्रिय सहभागिताका आधारमा छात्रवृत्ति प्राप्त गरेकी हुन्।

विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा छात्रवृत्ति हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले यस्ता छात्रवृत्तिले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्न उत्साह प्रदान गर्ने बताएका थिए।

विद्यालयले नारायण स्मृति अक्षयकोष स्थापना गरी निरन्तर रूपमा विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै आएको छ। छात्रवृत्ति प्राप्त गरेकी रीना पाललाई विद्यालय परिवारले बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।