कपिलवस्तु, जेठ २८ गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित हनुमान चोकमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी आन्तरिक रोजगार प्रवर्द्धन तथा उद्यमशीलतासम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ।

उद्यमशील सोच, आत्मविश्वास तथा सीप विकास गरी स्थानीय स्तरमै स्वरोजगार र उद्यम स्थापना गर्न प्रेरित गर्ने उद्देश्यले बुद्धभूमि नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा तथा सामी (सुरक्षित आप्रवासन) कार्यक्रमको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो।

तालिम समापन कार्यक्रममा बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै वैदेशिक रोजगारीका क्रममा हासिल गरेको सीप र अनुभवलाई स्वदेशमै सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले युवाहरूलाई उद्यमशीलता तथा साना व्यवसाय सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै अधिकारसँगै कर्तव्य पनि पालना गर्नुपर्ने बताउनुभयो। सीमित बजेटका बाबजुद नगरपालिकाले युवामुखी कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँको भनाइ थियो।

तालिममा ५० भन्दा बढी युवाको सहभागिता रहेको थियो। सहभागी प्रमोद कुँवरले स्वदेशमै केही गरौँ भन्ने सोचको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी भएको बताउँदै उद्यम सञ्चालनका लागि नगरपालिकाबाट आवश्यक सहयोगको अपेक्षा रहेको धारणा राख्नुभयो। उहाँले तालिमले युवाहरूलाई सचेत गराउनुका साथै स्वदेशमै उद्यम गर्न प्रेरित गरेको बताउनुभयो।

तालिममा सहभागीहरूलाई वैदेशिक रोजगार, वित्तीय साक्षरता, व्यवसाय व्यवस्थापन तथा जोखिम व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

सामी परियोजना कपिलवस्तुका प्रमुख सुवास रेग्मी तथा प्रशिक्षक सिद्ध शिवाकोटीले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक रविन चौधरीले गर्नुभएको थियो।