कपिलवस्तु नगरपालिकामा नगर बाल सञ्जाल पुनर्गठन
कपिलवस्तु, जेठ ३० । कपिलवस्तु नगरपालिकामा नगर बाल सञ्जालको पुनर्गठन गरिएको छ। सञ्जालका पदाधिकारी तथा सदस्यहरूको उमेर १८ वर्ष नाघेपछि प्रचलित व्यवस्थाअनुसार स्वतः पदमुक्त हुने प्रावधान रहेकाले नयाँ कार्यसमिति गठन गरिएको हो।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल तथा सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममार्फत नयाँ कार्यसमिति चयन गरिएको हो।
पुनर्गठित सञ्जालको अध्यक्षमा माया कुर्मी चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा दिवस भट्टराई, सचिवमा रामेश्वर कोरी, सदस्य–सचिवमा पूर्णिमा यादव तथा कोषाध्यक्षमा लक्ष्मी विश्वकर्मा चयन हुनुभएको छ।
सञ्जालका सदस्यहरूमा सुहानी कसौधन, गायत्री कसौधन, श्याम भुज, आरती ठाकुर, प्रमिस आचार्य, सूजना चौधरी, नीला धोबी, अनुराग गौतम, निरज चौधरी, किरण नाउ, विश्वनाथ यादव, कविता बरई, करिश्मा मौर्य, आकाश गुप्ता, आदित्य चौधरी, अरुण यादव र अमित यादव रहनुभएको छ।
सो अवसरमा नगरप्रमुख सुदीप पौडेलले बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरी नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले बालबालिका र किशोरकिशोरीहरू राष्ट्रका भावी कर्णधार भएकाले आगामी बजेट तथा कार्यक्रममार्फत उनीहरूको क्षमता विकास र सहभागितालाई थप प्राथमिकता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले नगरपालिकाको वडा नं. ६ र ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले बालअधिकार संरक्षण, सहभागिता तथा बालमैत्री वातावरण निर्माणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले नवगठित सञ्जालले बालबालिकाको हकहित संरक्षण तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।































