कपिलवस्तु, जेठ ३० । आधारभूत तहका विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले साक्षरता तथा सीप विकाससम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिम तौलिहवामा सुरु भएको छ।

शिक्षा तालिम केन्द्र, लुम्बिनी प्रदेशको आयोजनामा, रुम टु रिड र पिस नेपालको सहयोग तथा शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको समन्वयमा तालिम सञ्चालन गरिएको हो।

तालिममा सहभागी १५ जना प्रशिक्षकले कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिकाभित्रका ८२ विद्यालयमा कक्षा १ मा अध्यापन गराउने शिक्षकलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको रुम टु रिडका कार्यकारी निर्देशक मणिप्रसाद गैरेले जानकारी दिनुभयो।

तालिम उद्घाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख माधव बन्जाडेले शिक्षा राज्यको प्रमुख प्राथमिकतामा रहेको क्षेत्र भएको उल्लेख गर्दै यस्ता तालिमले प्रभावकारी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न र विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

उहाँले कार्यान्वयनमा रहेको नमुना शिक्षा कार्यक्रमले आगामी दिनमा शिक्षा विकासको स्पष्ट खाका तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, कार्यक्रमको सफल कार्यान्वयनका लागि इकाइले आवश्यक सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिक्षा तालिम केन्द्र, लुम्बिनी प्रदेशका प्रमुख हिमलाल खनालले रुम टु रिड कार्यक्रमले शिक्षकहरूको पेशागत क्षमता तथा सिकाइ सहजीकरण सीप विकासमा टेवा पुर्‍याउने बताउनुभयो। उहाँले प्रशिक्षित शिक्षकमार्फत प्रारम्भिक कक्षामा अध्ययनरत विद्यार्थीहरूको सिकाइ थप प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो।

उहाँका अनुसार तालिममा केन्द्रका पाँच जना प्रशिक्षकले सहजीकरण गर्नेछन्।

केन्द्रका प्रमुख हिमलाल खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिकाका विज्ञ शिक्षकहरूको सहभागिता रहेको थियो।