कपिलवस्तु, ३१ जेठ । बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पर्यटन विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरपालिकाको हनुमान चोकस्थित सभाहलमा आयोजित १९औँ नगरसभामा नगर प्रमुख केशवकुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगार प्रवर्द्धन, कृषि विकास, सूचना प्रविधि, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताउनुभयो ।

“खुसी नगरवासी : समृद्ध बुद्धभूमि” भन्ने मूल नारासहित प्रस्तुत नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । नगर प्रमुख श्रेष्ठले नगरका गौरवका आयोजना तथा अधुरा योजनालाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले बुद्धी–तौलिहवा सडक चालु आर्थिक वर्षमै सम्पन्न गरिने बताउँदै वैदेशिक रोजगारीमा रहेका युवा तथा तिनका परिवारलाई लक्षित गरी “सामी र के हामी” कार्यक्रममार्फत सीप, परामर्श तथा सहयोग उपलब्ध गराइने बताउनुभयो ।

बजारको मागअनुसार सूचना तथा सञ्चार प्रविधिमा आधारित तालिम सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने नीति लिइएको छ । कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्न मासिक रूपमा कृषिबाली तथा पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिने, माटोको गुणस्तर सुधारका लागि प्राङ्गारिक तथा कम्पोस्ट मल प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइने तथा कृषि प्रविधिको अधिकतम उपयोग गरिने जनाइएको छ ।

नगरपालिकाले राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई सहज बनाउन आवश्यक सेवा कार्यालय स्थापना तथा सञ्चालन गर्ने नीति पनि अघि सारेको छ । साथै, अपाङ्गता भएका व्यक्ति, अति अशक्त बिरामी तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने कार्यक्रमसमेत समेटिएको छ ।

नगरपालिकाका अनुसार नीति तथा कार्यक्रमले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहमार्फत समृद्ध बुद्धभूमि निर्माण गर्ने लक्ष्य अघि सारेको छ ।

नगरसभामा उपप्रमुख मिरा चौधरीले बुद्धभूमि नगरपालिकाको विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि १ अर्ब ३६ करोड ५२ लाख ३६ हजार रुपियाँको बजेट पेश गर्नुभयो । साथै उहाँले न्यायिक समितिको प्रतिवेदन, आर्थिक विधेयक, २०८३ तथा नगर दररेट, २०८३ सम्बन्धी विधेयकसमेत प्रस्तुत गर्नुभयो ।

त्यसैगरी विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्ना समितिका प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक विकास समितिका संयोजक तथा वडा अध्यक्ष प्रमोद आचार्य, सार्वजनिक सेवा तथा क्षमता विकास (सुशासन) समितिका संयोजक कपिलदेव तिवारी, पूर्वाधार विकास समितिका संयोजक तेजबहादुर बस्नेत तथा वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक रोमबहादुर थापाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

विधायन समितिको प्रतिवेदन समितिका संयोजक सन्दीपकुमार पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०८२/८३ को लेखा समितिको प्रतिवेदन वडा अध्यक्ष गोविन्द आचार्यले प्रस्तुत गर्नुभएको थियो ।