तौलिहवा(कपिलबस्तु), असार ३ गते । जिल्लामा सञ्चालन भइरहेको आर्थिक गणनाको ८८ प्रतिशत काम सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना कार्यालय कपिलवस्तुका आर्थिक गणना अधिकारी मनोहर हरिजनका अनुसार जिल्लाभरका २२ हजार ५२५ व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गर्ने लक्ष्य रहेकामा जेठ मसान्त सम्म १९ हजार ७४० प्रतिष्ठानको गणना सम्पन्न भएको बताउनुभयो । बाँकी रहेका तथा छुटेका प्रतिष्ठान र व्यवसायको स्थलगत तथ्याङ्क सङ्कलन असारको पहिलो साताभित्र सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लामा रहेका उद्योग, व्यापार तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको वास्तविक अवस्था पहिचान गर्न आर्थिक गणना सञ्चालन गरिएको हो । यसअघि २०७५ सालमा आर्थिक गणना गरिएको थियो । अधिकारी हरिजनका अनुसार २०७५ सालको तुलनामा यस पटक उद्योग तथा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या करिब ४५ प्रतिशतले वृद्धि भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । २०७५ सालको गणनाअनुसार जिल्लामा १३ हजार ६०७ उद्योग तथा व्यावसायिक प्रतिष्ठान रहेका थिए ।

त्यतिबेला सबैभन्दा बढी प्रतिष्ठान शिवराज नगरपालिकामा दुई हजार ३१६ र सबैभन्दा कम यशोधरा गाउँपालिकामा ४९२ रहेका थिए । हालसम्मको गणनाअनुसार सबैभन्दा बढी प्रतिष्ठान वाणगंगा नगरपालिकामा तीन हजार ७२५ र सबैभन्दा कम यशोधरा गाउँपालिकामा ७६० वटा रहेका छन् । गणनाको कार्य जारी रहेकाले अन्तिम तथ्याङ्कमा केही वृद्धि हुन सक्ने कार्यालयले जनाएको छ ।

आर्थिक गणनाअन्तर्गत आर्थिक क्षेत्रसँग सम्बन्धित १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिएको छ । यसमा दर्ता भएका तथा नभएका साना ठूला व्यवसाय, व्यापारिक प्रतिष्ठान, स्वरोजगार तथा रोजगारी सिर्जना गर्ने प्रतिष्ठानहरूको तथ्याङ्क समेटिएको छ । साथै आर्थिक कारोबार, उत्पादन तथा उद्योगका गतिविधिसम्बन्धी विवरणसमेत सङ्कलन भइरहेको छ ।

गणनाका लागि जिल्लामा ६३ जना गणक र आठ जना सुपरिवेक्षक गरी ७१ जना जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ । गत वैशाखदेखि सुरु भएको आर्थिक गणनाको कार्य असार ७ गतेभित्र सक्ने लक्ष्य राखिएको छ ।