खोलामा नुहाउन गएकी वृद्धा मृत अवस्थामा फेला
कपिलवस्तु, असार ४ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ भगिरामपुरस्थित गुर्डुङ खोलामा नुहाउन गएकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बुद्धभूमि नगरपालिका ४ भगिरामपुर निवासी यमबहादुर सेन वलीकी श्रीमती अन्दाजी ८० वर्षीया रुपा सेन वली बिहीबार बिहान खोलाको बीचभागमा घोप्टो परेको अवस्थामा मृत भेटिएकी हुन्।
स्थानीयवासीले बिहान करिब ८ बजे प्रहरी चौकी बुड्ढीमा घटनाबारे जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक रेशम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली तथा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा घटनास्थल अनुसन्धान टोली खटिएको थियो।
प्रहरीका अनुसार मृतकले आफ्ना कपडा र झोला खोलामाथिको पुलछेउको फलामे पोलमा राखेको अवस्थामा फेला परेको छ। उनी केही समयदेखि सोही क्षेत्रमा बसोबास गर्ने आफ्नी छोरी जमुना केसीको घरमा बस्दै आएकी थिइन्। बिहीबार बिहान कसैलाई जानकारी नदिई घरबाट निस्किएकी उनी नुहाउने क्रममा डुबेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा मृतकका आफन्त पुगिसकेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













