पर्यटन प्रवद्र्धनका लागि समन्वय र पूर्वाधार विकासमा जोड
तौलिहवा(कपिलबस्तु), असार १३ गते । जिल्लाको पर्यटन क्षेत्रको दिगो विकास, प्रचारप्रसार तथा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गौतम बुद्ध सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा तथा कपिलवस्तु नगरपालिकाको सहयोगमा भएको हो ।
कार्यक्रममा पर्यटन विज्ञ पोमनारायण पौडेल र लुम्बिनी विकास कोषका सुचना अधिकारी हरिध्वज राईले कार्यपत्र प्रस्तुत गर्दै कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटनको सम्भावनाबारे प्रकाश पार्नु भएको थियो । उनीहरूले कपिलवस्तुलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटन सर्किटसँग प्रभावकारी रूपमा जोड्न सके पर्यटन क्षेत्रले उल्लेखनीय फड्को मार्ने धारणा व्यक्त गर्नु भएको छ ।
सो अवसरमा बोल्दै नगरप्रमुख सुदीप पौडेलले कपिलवस्तु ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक दृष्टिले विश्वकै महत्वपूर्ण गन्तव्य भएकाले यसको संरक्षण र प्रवद्र्धन नगरपालिकाको प्राथमिकतामा रहेको बताए । उहाँले पर्यटनलाई स्थानीय आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण, सरसफाइ, सौन्दर्यीकरण तथा निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिइएको उल्लेख गर्नुभयो । पर्यटन क्षेत्रको विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र स्थानीय समुदायबीचको समन्वय अपरिहार्य रहेको उहाँको भनाई छ ।
त्यस्तै तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटक मैत्री वातावरण, गुणस्तरीय सेवा, व्यवस्थित बजार तथा होटल व्यवसायको विकाससँगै कपिलवस्तुको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, पर्यटन व्यवसायी, सामाजिक अगुवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष प्रेम जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत राजेश ज्ञवालीले गर्नुभएको थियो ।

























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













