कृष्णनगरमा अवैध रूपमा भण्डारण गरिएका खाली लाइटर बरामद
तौलिहवा, असार १६ गते । जिल्लाको कृष्णनगर नगरपालिका–२, ट्रान्समिटर टोलबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका सात लाख २० हजार रुपियाँ बराबरका खाली लाइटर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय नजिमुन निशा र मोहम्मद साजिदको घरमा खानतलासी गर्दा ग्यास नभएका खाली लाइटरका खोका फेला पारेको हो ।
प्रहरीले नजिमुन निशाको घरबाट २४ हजार थान र मोहम्मद साजिदको निर्माणाधीन घरबाट थप २४ हजार थान गरी कुल ४८ हजार थान खाली लाइटर बरामद गरेको जनाएको छ । प्रतिथान १५ रुपियाँका दरले बरामद सामानको अनुमानित मूल्य सात लाख २० हजार रुपियाँ रहेको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न रहेको आरोपमा नजिमुन निशाकी २८ वर्षीया छोरी रेश्मा खातुन तथा मोहम्मद साजिदका २२ वर्षीय छोरा मोमताज अलीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको थियो । अनुसन्धानपछि दुवै जना जनही २४ हजार रुपियाँ धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले अवैध भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले यस्ता गतिविधिमा संलग्न जोसुकैमाथि कानुन अनुसार कारबाही गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406








xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













