यातायात व्यवसायीबीचको विवादले तौलिहवा–भैरहवा बस सेवा प्रभावित, यात्रु मर्कामा
कपिलवस्तु, २० असार । तौलिहवा–भैरहवा सडकखण्डमा सञ्चालन हुने बस सेवा तीन यातायात व्यवसायी कम्पनीबीचको विवादका कारण चार दिनदेखि अनियमित बनेपछि यात्रुहरू सास्तीमा परेका छन्।
पश्चिम नेपाल बस व्यवसायी समितिले तौलिहवाबाट काठमाडौंका लागि बिहान ८ः३० बजे दैनिक विद्युतीय (ईभी) बस सञ्चालन गर्ने निर्णय गरेपछि विवाद सुरु भएको हो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै प्राचीन कपिलवस्तु यातायात प्रालिले उक्त ईभी सञ्चालनमा अवरोध गरेको जनाएको छ। त्यसयता पश्चिम नेपाल, सिद्धार्थ यातायात र प्राचीन कपिलवस्तु यातायात प्रालिबीच विवाद चर्किएको हो।
व्यवसायी रञ्जित बर्माले ‘तलेश्वरनाथ’ नामबाट तौलिहवा–काठमाडौं बिहानको नियमित सेवाका रूपमा ईभी सञ्चालनमा ल्याएका छन्। ईभी सेवा सुरु भएदेखि नै सम्बन्धित व्यवसायीबीच विवाद बढ्दै गएको बताइएको छ।
विवादका कारण प्राचीन कपिलवस्तु यातायात प्रालिले तौलिहवा बसपार्कबाट पश्चिम नेपाल र सिद्धार्थ यातायातका बस सञ्चालन गर्न नदिएको आरोप लागेको छ। त्यसैगरी पश्चिम नेपाल र सिद्धार्थ यातायातले भैरहवाबाट प्राचीन कपिलवस्तु यातायातका बस सञ्चालनमा अवरोध गरेको जनाइएको छ। यसले तौलिहवा–भैरहवा रुटमा बस सेवा अनियमित बनेको छ।
यातायात व्यवसायीबीचको आपसी विवादको प्रत्यक्ष असर यात्रुमा परेको छ। यसअघि करिब एक घण्टा २५ मिनेटको अन्तरालमा बस छुट्ने गरेकामा अहिले ३० देखि ४० मिनेटको अन्तरालमा मात्र बस सञ्चालन भइरहेको यात्रुहरूको गुनासो छ। साथै, पहिले करिब एक घण्टा २५ मिनेटमा पूरा हुने यात्रा अहिले तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको उनीहरूले बताएका छन्।
यात्रुहरूले व्यवसायीबीचको विवादका कारण आफूहरूले अनाहकमा सास्ती व्यहोर्नुपरेको गुनासो गरेका छन्। नियमित बस सेवा नहुँदा कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा अन्य सर्वसाधारण बढी प्रभावित भएका छन्।
यस विषयमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवाद समाधानका लागि जिल्ला प्रहरी कार्यालयलाई आवश्यक पहल गर्न निर्देशन दिइएको जानकारी दिए। उनले यात्रुलाई सहज सेवा उपलब्ध गराउने वातावरण बनाउन सम्बन्धित पक्षसँग समन्वय भइरहेको बताए।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













