तौलिहवा(कपिलबस्तु), असार २७ गते । जिल्लाको बाणगंगा नगरपालिका ८ बालपुर गाउँ नजिक बाणगंगा नदीको बीचभागमा फसेका सात जना युवाको शनिबार दिउँसो सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
नदीमा पौडी खेल्ने क्रममा अचानक पानीको बहाव बढेपछि उनीहरू नदीको बीचभागमा फसेका थिए । सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थल पुगेर करिब डेढ घण्टाको प्रयासपछि उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
उद्धार गरिएका मध्ये बाणगंगा नगरपालिका ४ का १७ वर्षीय सम्राट गिरी, १८ वर्षीय निर्वाचन नेपाली, १७ वर्षीय ज्ञानेन्द्र परियार, कृष्ण तिवारी र मनिष थापा रहेका छन् । त्यसैगरी बाणगंगा नगरपालिका १ का विकल्प रेग्मी तथा बाणगंगा नगरपालिका ८ का सुभाष घिमिरेको पनि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार कार्यका क्रममा सुरक्षाकर्मीले डोरी, ढुंगा तथा अन्य आवश्यक उद्धार सामग्रीको प्रयोग गर्दै नदीमा प्रवेश गरेका थिए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थलमा क्रेनसमेत तयारी अवस्थामा राखिएको थियो ।
अर्घाखाँची क्षेत्रमा भएको वर्षापछि बाणगंगा नदीमा एक्कासि पानीको बहाव बढेको जनाइएको छ । नदीमा पानीको सतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नदी तथा खोलानालाको आसपास नजान र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।