कपिलवस्तु, असार २७। वन संरक्षण, वैज्ञानिक व्यवस्थापन, अध्ययन तथा अनुसन्धानलाई प्रभावकारी बनाउन कपिलबस्तुमा वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा वन क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ। तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहयोग तथा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा वन क्षेत्रको संरक्षण, दिगो व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको सहभागितालाई सुदृढ बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत दीपक केसीले वन व्यवस्थापन, अध्ययन, अनुसन्धान तथा अवलोकन कार्यक्रमको उद्देश्यबारे प्रस्तुतीकरण गर्दै वनको दिगो व्यवस्थापनका लागि वैज्ञानिक योजना, नियमित अनुगमन र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। वन क्षेत्रको संरक्षणसँगै प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोगमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

वरिष्ठ वन अधिकृत मोतीराम पौडेलले वन व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वनले वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा पुर्‍याएको योगदानबारे प्रकाश पार्नुभयो। वन संरक्षणलाई उत्पादन र समृद्धिसँग जोड्दै अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश पाण्डेयले साझेदारी वन व्यवस्थापनको अवधारणाले वन संरक्षणमा सकारात्मक परिणाम दिएको बताउँदै वन उपभोक्ताको सक्रिय सहभागिताले वन सम्वर्द्धनमा उल्लेखनीय टेवा पुगेको धारणा राख्नुभयो।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले वन संरक्षण र वातावरणीय मुद्दालाई समाजसम्म प्रभावकारी रूपमा पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। वन संरक्षणका असल अभ्यास, चुनौती र सम्भावनालाई तथ्यमा आधारित समाचारमार्फत जनस्तरसम्म पुर्‍याउने जिम्मेवारी पत्रकारहरूको रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने तिलौराकोट साझेदारी वन उपभोक्ता समितिका कोषाध्यक्ष बलराम तिवारीलगायत वन उपभोक्ता, पत्रकार तथा वन कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

अन्तरक्रियापछि सहभागीहरूले वन क्षेत्रको स्थलगत अवलोकन गर्दै संरक्षण, व्यवस्थापन, जैविक विविधता तथा वन सम्वर्द्धनका अभ्यासबारे जानकारी लिएका थिए।