कपिलवस्तु, साउन १ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का सर्वसाधारण तथा समर्थकहरूले सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहमाथि दर्ता गरिएको मुद्दा फिर्ता लिन माग गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा कृष्णनगर नगरपालिका–२ स्थित भन्सार कार्यालयको छेउमा रहेको शाह कम्प्लेक्समा असार २८ गते दिउँसो भएको घटनाको वास्तविकता बुझ्न सांसद अभिषेक प्रताप शाह र नगर प्रमुख रजत प्रताप शाहले पहल गरेको उल्लेख छ। सोही विषयलाई लिएर केही व्यक्तिले राजनीतिक प्रतिशोधका कारण सांसद शाह र नगर प्रमुख शाहविरुद्ध झुट्टा ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दर्ता गराएको दाबी ज्ञापनपत्रमा गरिएको छ।

ज्ञापनपत्रमा घटनासँग सम्बन्धित सीताराम शर्मा (रितेश शर्मा) ले अदालत तथा जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफू डिप्रेसनको औषधि सेवन गरिरहेको उल्लेख गरेको भन्दै त्यस्तो व्यक्तिको जाहेरीका आधारमा राजनीतिक स्वार्थ प्रेरित मुद्दा अघि बढाउन नहुने जिकिर गरिएको छ।

ज्ञापनपत्रमार्फत सांसद अभिषेक प्रताप शाह र नगर प्रमुख रजत प्रताप शाहमाथिको मुद्दा तत्काल फिर्ता लिन, निष्पक्ष अनुसन्धान गर्न तथा निर्दोष व्यक्तिमाथि धरपकड नगर्न प्रशासनसँग माग गरिएको छ। माग सम्बोधन नभई मुद्दा फिर्ता नलिए वा धरपकडको प्रक्रिया अघि बढाइए शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ।

आन्दोलनका क्रममा हुन सक्ने क्षतिको जिम्मेवारी सम्बन्धित प्रहरी प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ। उक्त ज्ञापनपत्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का जनसमुदायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बुझाएका हुन्।

कपिलवस्तु–३ का प्रतिनिधिसभा सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द गरिएको छ ।

सामान्य विवादको विषयलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले सांसद र मेयरलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजार बन्दसँग यातायातका साधन पनि बन्द गराएका छन् ।

ज्ञापनपत्र