कपिलवस्तु, साउन २ गते । कपिलवस्तुको शिवराज नगरपालिका–३, चन्द्रौटामा साइकललाई ठक्कर दिएर फरार हुने क्रममा कारले अन्य दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार बा १४ च ९००० नम्बरको कारले सशस्त्र प्रहरीको जाँचचौकी (चेकपोस्ट) अगाडि एक साइकललाई ठक्कर दिएपछि घटनास्थलबाट भाग्ने प्रयास गरेको थियो । सो कारले करिब ३०० मिटर अगाडि खसी बजार चोकमा पुगेपछि पुनः दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी लु १ ह १९३ र रा १ ह ६६४३ नम्बरको अटोमा सवार तथा अन्य गरी १३ जना घाइते भएका छन् । घाइतेहरूको शिवराजस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । घाइतेहरूको अवस्था र परिचय खुल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।