कपिलवस्तुमा खाना पकाउने ग्यासको अभाव, उपभोक्ता मारमा
तौलिहवा, साउन २१ गते । कपिलवस्तुमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ता समस्यामा परेका छन्। बजारमा ग्यासको आपूर्ति अनियमित बन्दा केही व्यवसायीले तोकिएको मूल्यभन्दा बढी रकम असुल्न थालेको उपभोक्ताको गुनासो छ।
तौलिहवा तथा आसपासका क्षेत्रमा ग्यासको कृत्रिम अभाव देखाएर व्यवसायीले प्रतिसिलिन्डर दुई सयदेखि तीन सय रुपियाँसम्म अतिरिक्त रकम लिने गरेको उपभोक्ताले बताएका छन्। ग्यास नपाउँदा दैनिक घरायसी कामकाजसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।
कपिलवस्तु नगरपालिका–६ स्थित जावेद ग्यास सप्लायर्सका सञ्चालक दिन मोहम्मदले भने कम्पनीबाट पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो। मागअनुसार ग्यास उपलब्ध गराउने प्रयास भए पनि आपूर्ति कम हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ।
मायादेवी गाउँपालिका–६ का रामबहादुर यादवले ग्यास अभावका कारण घरायसी कामकाज प्रभावित भएको बताउनुभयो। ग्यास पाइहाले पनि बढी मूल्य तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सरकारले सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो।
यसैबीच, बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यवसायीमाथि प्रशासनले निगरानी कडा बनाएको जनाएको छ। कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भाविश्वर घिमिरेले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने बताउनुभयो।
उहाँले उपभोक्तालाई अनावश्यक दुःख दिने र कालोबजारीमा संलग्न जोसुकैलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पार्नुभयो।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













