तौलिहवा(कपिलबस्तु), साउन २२ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ वेदमउमा विषालु सर्पको डसाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीय राजकुमार कोरीका छोरा नरिहस कोरीले घरको गल्लीमा खेल्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेको थियो । सर्पको डसाइबाट घाइते भएका उहाँलाई उपचारका लागि सुरुमा शिवराज अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

शिवराज अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बालकलाई गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । उपचार केन्द्रमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले घटनाप्रति दुःख व्यक्त गर्दै समयमै सम्पर्क भएको भए बाटोमै प्राथमिक उपचारको व्यवस्था मिलाउन सकिने बताउनुभयो ।

“घटनाबारे समयमै हामीलाई जानकारी भएको भए सडकबाटै आवश्यक प्राथमिक उपचारको व्यवस्था मिलाउन सकिन्थ्यो,” व्यवस्थापक भण्डारीले भन्नुभयो । सर्पदंशका घटना विशेषगरी गर्मी तथा वर्षायाममा बढ्ने भएकाले समयमै उपचारका लागि स्वास्थ्य संस्था पुर्‍याउनुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले कुल १ हजार ४८० जना सर्पदंशका बिरामीको उपचार गरेको छ ।