युट्युबबाट सिकेको सीपले ड्र्यागन फ्रुट खेतीमा सफलता
तौलिहवा (कपिलवस्तु), साउन २१ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले युट्युबबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा ड्र्यागन फ्रुट खेती सुरु गर्नुभएको छ । करिब डेढ वर्षअघि चार कठ्ठा क्षेत्रफलमा सुरु गरिएको खेतीबाट हालसम्म तीन पटक फल उत्पादन भइसकेको छ ।
बेलवासेले रुपन्देहीको रानीबगियाबाट ६२८ वटा बिरुवा खरिद गरी १५७ वटा पोलमा प्रत्येक पोलमा चार–चार वटाका दरले बिरुवा रोप्नुभएको हो । उहाँका अनुसार प्रतिबिरुवा १६० रुपियाँका दरले खरिद गरिएको थियो ।
बिरुवा अझै पूर्ण रूपमा परिपक्व भइनसकेकाले उत्पादन अपेक्षाअनुसार हुन केही समय लाग्ने उहाँले बताउनुभयो । “अहिलेसम्म तीन पटक फल टिपिसकेका छौँ । भदौतिर चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो ।
ड्र्यागन फ्रुटको बजार राम्रो रहेकाले बिक्रीमा कुनै समस्या नरहेको उहाँको भनाइ छ । अहिले प्रतिकिलोग्राम चार सय रुपियाँसम्ममा बिक्री भइरहेको र फल उत्पादन भएपछि ग्राहक घरमै आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।
युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर ड्र्यागन फ्रुट खेती सुरु गरेको बताउँदै बेलवासेले सिँचाइको अभाव मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । रोग व्यवस्थापनका विषयमा पनि थप प्राविधिक ज्ञान आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार चितवनको हावापानी ड्र्यागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिन्छ । यद्यपि यहाँको बढी गर्मीका कारण खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार ड्र्यागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी अभिलेख नरहे पनि जिल्लामा साना-साना स्केलमा खेतीको सुरुवात भएको बताउनुभयो ।
व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण पछिल्ला वर्षहरूमा जिल्लामा ड्र्यागन फ्रुट खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













