स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ
मलङ्गवा, साउन २७ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट बयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो। स्कुटरको डिकी, अगाडिको खट्टा राख्ने भाग (फुटबोर्ड) तथा बोकी ल्याएको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ ५१ लाख ३४ हजार बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद रकममा एक हजार रुपैयाँ दरका तीन हजार ५०० थान, पाँच सय रुपैयाँ दरका तीन हजार १०८ थान, एक सय रुपैयाँ दरका सात सय थान र ५० रुपैयाँ दरका दुई सय थान नोट रहेका छन्।
नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरी घाइते हुनुभएको छ। उहाँको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल मलङ्गवा लगिएको र हाल अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
निजलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्र यादवसमेत सामान्य घाइते हुनुभएको थियो। उहाँहरू प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ।
बरामद रकम, स्कुटर र पक्राउ परेका कोइरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













